गणतन्त्र उल्ट्याउने र संविधान जोगाउनेबीच प्रतिस्पर्धाः प्रचण्ड

रेडियो दर्पण संवाददाता

२६ वैशाख, धनगडी ।

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले गणतन्त्र उल्ट्याउने र संविधान जोगाउनेबीच प्रतिस्पर्धा भइरहेको बताएका छन्।

धनगढीमा सोमबार आयोजित पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्र उल्ट्याउन खोज्ने एमाले र संविधान जोगाउने गठबन्धनबीच प्रतिस्पर्धा भइरहेको बताएका हुन्।

देशलाई २०१८ सालमा फर्काउने एमाले अध्यक्ष केपी ओलीको योजना असफल पार्न गठबन्धन बनेको उनको भनाइ छ। सदन चल्न नदिएर देशलाई अन्धकार बनाउन खोज्नेले जनताको आँखामा छारो हालेर चुनाव जित्न खोजेको प्रचण्डको आरोप छ।

कांग्रेसलाई अत्यधिक बहुमतले विजयी गराउन सभापति देउवाको आग्रह
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई अत्यधिक बहुमतले विजय गराउन आग्रह गर्नुभएको छ । गृह गाउँपालिका गन्यापधुरा–२ बडालमा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “यहीँ मेरो घर हो र गाउँ पनि हो । यस कारण यहाँको शैक्षिक विकास, प्राविधिक शिक्षालगायतका सबै क्षेत्रमा मैले विकास गर्नेछु ।”

आफ्नो गाउँठाउँको विकास आफूले नै गर्ने भएकाले गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवारलाई जिताउन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पहिले म विद्यालय पढ्दा हिँडेर जान्थेँ । अहिले सबै ठाउँमा सडक पुगिसकेका छन् । कच्ची बाटा छन् । अब कालोपत्र गर्नु पर्नेछ । त्यो सबै मैले गर्ने हो ।” भातकाँडा–रुवाखोला–बडाल–रेल सडकलाई कालोपत्र गर्ने उहाँले बताउनुभयो ।