भरतपुरको मेयरमा कसले मार्ला बाजी: कसको शक्ति कति ? यस्तो छ पछिल्लो हिसाबकिताब

रेडियो दर्पण संवाददाता

२८ वैशाख, काठमाडौं ।

भरतपुर महानगरपालिका यसपटक पनि स्थानीय चुनावको इपिसेन्टरमा छ । चुनावी माहोल देशैभरि फैलिए पनि चितवनको भरतपुर महानगरपालिकाको चुनावको चर्चा सबैभन्दा उच्च छ ।

सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल दोस्रो कार्यकालका लागि भरतपुरको मेयर बन्ने प्रतिस्पर्धामा छिन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशसभा सांसद रहिसकेका विजय सुवेदीलाई मेयरको उम्मेदवारका रुपमा मैदानमा उतारेको छ । अर्कोतिर माओवादीलाई भरतपुरको नेतृत्व दिने निर्णयमा असन्तुष्ट कांग्रेसको एक समूहले पूर्वसांसद जगन्नाथ पौडेललाई स्वतन्त्र उम्मेदवारको रुपमा अगाडि सारेको छ ।

भरतपुरको नेतृत्व लिन यसपटक १६ जना मैदानमा भए पनि मुख्य प्रतिस्पर्धा यी नै तीन जनाबीच हुने प्रस्ट छ ।

अघिल्लो निर्वाचनको अंकगणित

२०७४ को स्थानीय निर्वाचनमा भरतपुरमा मतगणनाका क्रममा जे भयो, त्यो बिर्सनलायक घटना थियो । माओवादी कार्यकर्ताले अन्तिम चरणमा मतपत्र च्यातेपछि १९ नम्बर वडामा पुनः मतदान भएको थियो ।

पुनः मतदानपछि मेयरमा माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहाल २०३ मतान्तरले विजयी भएकी थिइन् । रेनुले ४३ हजार १२७ मत ल्याउँदा एमालेका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए । मेयरमा तेस्रो भएका राप्रपाका बद्रीनाथ तिमिल्सिनाले ६ हजार ८४२ मत ल्याएका थिए ।

भरतपुरका २९ वडामध्ये एमालेले १४, कांग्रेसले १२ र माओवादीले ३ वडा जितेका थिए । यद्यपि वडा नम्बर १६ मा उपनिर्वाचन कांग्रेसले जितेको थियो । हाल एमालेबाट जितेकामध्ये ५ जना वडा अध्यक्ष नेकपा एकीकृत समाजवादीमा आवद्ध छन् ।

यही कारण ताजा अवस्थामा भरतपुरमा कांग्रेसका १३, एमालेका ८, नेकपा एसका ५ र माओवादीका ३ वडा अध्यक्ष रहेका छन् । अघिल्लो निर्वाचनमा भरतपुरमा कूल १ लाख ५० हजार ४७८ मतदाता थिए ।

जसमध्ये १ लाख १२ हजार ८९७ मत खसेको थियो । महानगरका वडाहरुमा दलका उम्मेदवारहरुले पाएको कूल मत हिसाब गर्दा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिन्छ ।

अघिल्लो निर्वाचनमा वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवारहरुले पाएको कूल मत ३८ हजार १२७ थियो । त्यस्तै वडा अध्यक्षमा एमालेका उम्मेदवारहरुले प्राप्त गरेको कूल मत ३७ हजार १९५ थियो । माओवादीका वडा अध्यक्षका उम्मेदवारहरुले कूल २१ हजार २१८ मत पाएका थिए । त्यस्तै राप्रपाका वडा अध्यक्षहरुको कूल मत ६ हजार ७५३ थियो ।

बदलिएको अंकगणित

भरतपुर महानगरमा अघिल्लो निर्वाचनमा भन्दा यसपटक ३५ हजार ४७८ नयाँ मतदाता थपिएका छन् । अहिले कूल मतदाता १ लाख ८५ हजार ७५२ पुगेको छ । अघिल्लो निर्वाचनमा ३७ हजार ३७७ जना मतदाताले मतदान नै गरेका थिएनन् । त्यतिबेला ७५ प्रतिशत मत खसेकोले त्यसैलाई आधार मान्दा यसपटक कम्तीमा १ लाख ४० हजार मत खस्ने आँकलन गर्न सकिन्छ ।

अघिल्लो पटक मुख्य दलबाहेकका उम्मेदवारहरुले ल्याएको मत २ हजार पनि ननाघेका कारण यसपटक रेनु, विजय र जगन्नाथले ल्याउने मतकै आधारमा चुनावी अंकगणितको आँकलन गर्नुपर्ने देखिन्छ किनकि यसपटक राप्रपाले मेयरमा उम्मेदवारी दिएको छैन ।

गठबन्धनको शक्ति कति ?

अघिल्लो निर्वाचनमा मेयरमा माओवादी–कांग्रेस गठबन्धनले ४३ हजार १२७ मत पाएको थियो । उपमेयरमा कांग्रेस उम्मेदवार पार्वती शाहले ४७ हजार १९७ मत ल्याएकी थिइन् । रेणुको भन्दा पार्वतीको मत बढी आउनुको कारण कांग्रेसभित्रको असन्तुष्टि थियो ।

चितवन कांग्रेसका नेताहरुका अनुसार मेयरमा उम्मेदवार नहुँदासमेत रुख चिन्हमा झण्डै ७ हजार मत खसेको थियो । वडा अध्यक्षहरुले ल्याएको मतका आधारमा कांग्रेस र माओवादीको एकीकृत मत ५९ हजार ३४५ थियो ।

यसपटक एमालेको विभाजनबाट रेनुलाई केही मत थपिने अवस्था छ । अर्कोतिर अघिल्लोपटक मेयर र उपमेयरमा तालमेल भए पनि वडाहरुमा हुनसकेको थिएन ।

यसपटक कांग्रेसले २० वडाको नेतृत्व पाएकाले कांग्रेस मतदाताको मत गठबन्धनमा थपिन सक्ने आँकलन छ । यद्यपि कांग्रेस नेताको स्वतन्त्र उम्मेदवारीका कारण गठबन्धनको मत प्रतिबद्ध रहनेमा शंका छ ।

गठबन्धनको पक्षमा रहेका कांग्रेस र माओवादी नेताहरु स्वतन्त्र उम्मेदवारले २० हजारसम्म मत काटे पनि नतिजा आफ्नै पक्षमा हुने दावी गर्छन् ।

‘कांग्रेस र माओवादीको संगठित मत कम्तिमा ८० हजार हो । कांग्रेसको २० हजार मत प्रभावित हुँदा पनि ६० हजार मत हामीसँग छ । मेयरका रुपमा काम गरेर रेनुजीले आफ्नो व्यक्तिगत प्रभाव र जनमत पनि विस्तार गर्नुभएको छ । त्यसैले चुनाव जित्न समस्या छैन’, माओवादीका नेताको दावी छ ।