दाङमा माओवादीले खोल्यो खाता, वडाध्यक्ष मगर विजयी

रेडियो दर्पण संवाददाता

३१ वैशाख, दाङ ।

दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर विजयी भएका छन् । यो वडामा कुल ७१४ मत खसेको थियो । मगरले ३५८ प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

यो वडामा नेपाली कांग्रेसका उम्मेदवारले १९८, नेकपा एमालेका उम्मेदनवारले ७६ , स्वतन्त्र उम्मेदवारहरू गुलाफको फूल १७ र छाता चुनाब चिह्नले जम्मा १ मत प्राप्त गरेका थिए ।

यहाँ माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका बीचमा चुनावी तालमेल भएको थियो ।

कागेश्वरी मनोहरामा कांग्रेसको प्रारम्भिक अग्रता
कागेश्वरी मनोहरा नगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नगर प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्थानीय तहको शुक्रबार भएको निर्वाचनको मतगणना आज बिहान २ बजेदेखि सुरु भएको हो । वडा नं १ को ३०० मत गन्दा कांग्रेसका नगर प्रमुख उपेन्द्र कार्कीसहित वडाध्यक्ष र सदस्यमा पनि प्रारम्भिक नेतृत्व लिएको निर्वाचन अधिकृत शारदा राउतले राससलाई जानकारी दिनुभयो ।

उपप्रमुखमा नेकपा (एमाले)का शान्ता थापाले नेतृत्व लिनुभएको पनि उहाँले बताउनुभयो । नगरपालिकामा कांग्रेस नेकपा (माओवादी केन्द्र)को गठबन्धन चुनाव लडेको थियो । एमाले र नेकपा (एकीकृत समाजवादी) भने छुट्टाछुट्टै निर्वाचन लडेका थिए ।

नौ वटा वडा रहेको नगरपालिकामा ३५ हजार ४९३ मतदाता छन् । जसमध्ये २६ हजार ९२८ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा नेकपा एमाले विजयी भएको थियो । एमालेबाट विजयी कृष्णहरि थापा समाजवादीमा लाग्नुभएको छ । उहाँ यो निर्वाचनमा पनि समाजवादीबाट प्रतिस्पर्धामा हुनुहुन्छ ।