लौरो चुनाव चिह्नधारी स्वतन्त्र उम्मेदवारले मारे बाजी

रेडियो दर्पण संवाददाता

१ जेष्ठ , काठमाडौं ।

काठमाडौँ महानगरपालिकामा लौरो चुनाव चिह्नधारी बालेन शाहले कांग्रेस र एमाले जस्ता स्थापित दलका उम्मेदवारलाई चम्का दिइरहेका बेला माओवादी जनयुद्धको उद्गमस्थल रोल्पामा पनि लौरो चुनाव चिह्नधारी उम्मेदवारले दलीय उम्मेदवारहरुलाई चक्मा दिँदै विजय हासिल गरेका छन् ।

रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नं २ को वडाध्यक्ष पदमा लौरो चुनाव चिह्नधारी नेत्रबहादुर गिरिले माओवादी केन्द्र र कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजय हासिल गरेका हुन्।

स्थानीय तहमा निकै लोकप्रिय रहेका स्वतन्त्र उम्मेदवार गिरिले २०७४ को स्थानीय तह निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारको रुपमा विजय हासिल गरेका थिए ।
४ सय ३९ मतसहित विजय हासिल गर्दा गिरिलाई कांग्रेस उम्मेदवारले ३ सय ९९ र माओवादी केन्द्रका उम्मेदवारले ३ सय ४७ मतसहित पछ्याएका थिए ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । नेकपा एमालेका उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई पछि पार्दै शाह अगाडि आएका हुन् ।

शाहले अग्रता बढाउँलै लैजाँदा उनको चर्चा झनै चुलिँदै गएको छ । अग्रता लिएसँगै काठमाडौं महानगरमा बालेनले चुनाव जित्ने केहीको आकलन छ भने केहीले अग्रता बढाउँदै लगे पनि चुनाव निजित्ने बताइरहेका छन् ।

काठमाडौंमा कसले जित्ने भन्ने विषयमा खोटाङमा भने दुई जनाले बाजी नै राखेका छन्। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का रमेश खड्का र विजय फुयालले कागज नै गरेर बाजी राखेका हुन्।

बालेन शाह महानगर प्रमुखमा विजयी भए रमेशले २८ केजीको खसी विजयलाई दिने भएका छन्। बालेन शाह हारेमा विजयले २८ केजीको मूल्य भुक्तानी गर्ने कागज गरेका हुन्।

उनीहरुले अन्य व्यक्तिको रोहवरमै कागज गरेका हुन् । तर, यसरी बाजी राख्नु गैरकानुनी हो। लौरो चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएका बालेनले एमाले र कांग्रेसका उम्मेदवारलाई पछि पार्दै अग्रता लिइरहेका छन्।

बालेनले आइतबार दिउँसो १२ बजेसम्म २६०१ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले १४१५ मत प्राप्त गरेका छन्। अहिले पनि मतगणना भइरहेको छ ।