घोराहीमा गठबन्धनलाई पछि पार्दै प्रमुख र उप्रमुख दुवैमा एमालेकाे अग्रता

रेडियो दर्पण संवाददाता

३ जेष्ठ, काठमाडौं ।

प्रमुख पदमा एमालेका उमेदवार नरूलाल चौधरीले १६ हजार नौ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उमेदवार हेमराज शर्माले १३ हजार ७७४ मतसहित पछ्याइरहेका छन् ।

उपप्रमुखतर्फ एमालेकै हुमा डिसीले १६ हजार ३७३ मतसहित अग्रता बनाएकी छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार भूपबहादुर डाँगीले १५ हजार ४६६ मत ल्याएका छन् ।

स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । अहिलेसम्मको नतिजाअनुसार कांग्रेस सबैभन्दा ठूलो दल बन्ने देखिएको छ । कांग्रेसले अहिलेसम्म १२१ स्थानमा विजयी हासिल गरेको छ भने १८५ पालिकामा अग्रता कायमै राखेको छ ।

७५३ पालिकामध्ये अहिलेसम्म ७०१ पालिकाको मतगणना भइरहेको छ । विभिन्न कारणले स्थगित भएका ५२ पालिकामा मतदान जारी छ । कतिपयमा भोलिसम्म मतदानको समय राखिएको छ ।

कांग्रेसले १२१ तहमा विजय हासिल गर्दा एमालेले पछ्याइरहेको छ । एमालेले अहिलेसम्म ७५ पालिकाको नेतृत्व लिन सफल भएको छ भने १२० तहमा अग्रता कायमै राखेको छ ।

नेकपा माओवादी केन्द्रले भने एमालेलाई पछ्याइरहेको छ । माओवादीले अहिलेसम्म ५९ तहमा विजय हासिल गरेको छ । ५५ तहमा अग्रता कायमै राखेको छ । नेकपा एकीकृत समाजवादीले भने निकै कम स्थानमा विजय हासिल गरेको छ । अहिलेसम्म जम्मा ४ तहमा विजय हासिल गरेको छ भने १७ तहमा अग्रता लिएको छ ।

तर निर्वाचन आयोगले भने अहिलेसम्म २२७ तहको परिणाम आधिकारिकरुपमा सार्वजनिक गरेको छ । जसमध्ये कांग्रेसले १०६, एमालेले ६३ र माओवादीले ४८ पालिकामा जित हासिल गरेको जनाएको छ ।

बाराको परवानीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा (एमाले)का उमदेवार विजयी भएका छन् । अध्यक्षमा एमालेका रामक्षत्रीप्रसाद कुर्मी विजयी भएका हुन् । उनले दुई हजार ९१७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी लोसपाका जगतनारायण महतोले दुई हजार ४४३ मत पाएका छन् ।

यस्तै, नेपाली कांग्रेसका उमेदवार लालबाबुप्रसाद यादवले दुई हजार ४२६ मत ल्याउँदा जसपाका सन्जुसाह कानुले एक हजार ९६६ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

उपाध्यक्षमा निर्वाचित एमालेकी सुगान्धीदेवी कानुले तीन हजार २३२ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी लोसपाबाट उमेदवार बनेकी सावित्री देवीले दुई हजार ३८७ मत पाएकी छन् ।

यस्तै, कांग्रेसकी उमदेवार कुराननेसा खातुन दुई हजार १९४ मतका साथ तेस्रो भइन् । जसपाकी विन्दुकुमारी देवीले एक हजार ५७३ प्राप्त गरिन् ।