काठमाडौंमा २७ हजार बढी मतगणना, मध्यान्ह १२ बजेकाे अपडेट

रेडियो दर्पण संवाददाता

३ जेष्ठ, काठमाडौं ।

काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५ हजार ५८ मतको अग्रता बनाएका छन् ।

सुरुवातदेखि नै अग्रता लिइरहेका साहले पछिल्लो मत परिणाम अनुसार १० हजार ८९९ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ८४१ मत पाएका छन् ।

तेस्रो स्थानमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन् । उनले ५ हजार ११४ मत प्राप्त गरेकी छन् । काठमाडौं महानगरपालिकामा अहिलेसम्म २७ हजार २०० मत गणना भएको छ । मतगणना जारी छ ।

ललितपुुर महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म ललितपुरमा १३ हजार ८१६ मतगणना सकिएको छ ।

पछिल्लो मत परिणामानुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार चिरिबाबु महर्जनले ७ हजार ७०२ मतसहित अग्रता कायमै राखेका छन् । उनका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारले ३ हजार ३७४ मत पाएका छन् ।

उपप्रमुखमा भने नेकपा (एमाले) का उमेदवार अगाडि छिन् । एमालेकी मन्जली शाक्यले तीन हजार ९६५ मत पाएकी छन् । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उमेदवार बाबुराज बज्राचार्यले दुई हजार ७१५ मतसहित उनलाई पछ्याइरहेका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा कृष्णहरि महर्जन र उपमेयरमा सिर्जना बुर्लाकोटी निर्वाचित भएका हुन् । महर्जनले ११ हजार ९८८ मत ल्याए भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामेश्वर बोहराले सात हजार ८०८ मत ल्याए ।

कांग्रेसबाट विजयी उपमेयर उम्मेदवार बुर्लाकोटीले १० हजार ७८६ मत पाइन् । उनका प्रत्यासी एमालेकी पराजित भवानी डोटेलले ८ हजार ६ मत प्राप्त गरिन् । तारकेश्वर नगरपालिकामा २०७४ सालको निर्वाचनमा एमाले विजयी भएको थियो ।

भिडियो लिंक :