मेलुङ गाउँपालिकामा एमालेका थोकर विजयी

रेडियो दर्पण संवाददाता

३ जेष्ठ, काठमाडौं ।

दोलखाको मेलुङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हीराकुमार थोकर निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा एमालेकै गायत्री आचार्य निर्वाचित हुनुभएको छ ।

थोकरले चार हजार ४४२ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एकीकृत समावजादीका रवीन्द्र कार्कीले दुई हजार ७०३ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा निर्वाचित एमालेका आचार्यले चार हजार १४७ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी कांग्रेसका भक्तबहादुर तामाङले दुई हजार १७५ मत प्राप्त गर्नुभएको छ ।

सातवटा वडा रहेको गाउँपालिकामा एमालेले ४ वटा वडामा वडाअध्यक्षसहित सिङ्गो प्यानल निर्वाचित भएको छ । गठबन्धनबाट तीन वडामध्ये समाजवादीले वडा नं २, माओवादीले वडा नं ५ र ६ मा विजयी भएको छ ।

अर्घाखाँचीको मालारानीमा एमाले
अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का दलबहादुर भट्टराई आठ हजार २८३ मत ल्याएर विजयी हुुनुभएको छ ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का पद्म क्षेत्रीले छ हजार ७२६ मत प्राप्त गर्नुभएको हो ।

यसैगरी उपाध्यक्षमा एमालेकै दीपा पोख्रेलले आठ हजार १५५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शोभाखर खनालले छ हजार ६५७ मत प्राप्त गर्नुभएको छ ।