बालेन १६ नम्बरका वडा अध्यक्षको घरमै गए, लञ्च मिटिङमा के भयो कुराकानी ?

रेडियो दर्पण संवाददाता

२८ जेठ, काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले १६ नम्बर वडाका अध्यक्ष मुकुन्द रिजालसँग उनको घरमै गएर भेटवार्ता गरेका छन् ।

काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा कडा रुपमा प्रस्तुत भएका वडा अध्यक्ष रिजाललाई मेयर बालेनले शनिबार घरमै गएर भेटघाट गरेका हुन् । कलाकार अर्जुन घिमिरे पाँडेसहितका सहयोगी लिएर रिजालको घरमा गएका बालेनले करिब दुई घन्टा छलफल गरेको बताइएको छ ।

रिजालको घर बालाजुमा पुगेका मेयर बालेनलाई वडा अध्यक्ष रिजालले लञ्च मिटिङको प्रस्ताव गरेका थिए । बालेनले सहज रुपमा लञ्च मिटिङको प्रस्ताव स्वीकार गरेको बालेनका एक सहयोगीले जानकारी दिए । उनका अनुसार मेयर बालेनले रिजालसँग फोहोर व्यवस्थापनका साथै महानगरको काम कारवाहीका बारेमा सुझाव मागेका थिए ।

भेटमा मेयर बालेनले रिजालको कार्यशैलीबाट आफु प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरेको बताएका थिए । जवाफमा वडा अध्यक्ष रिजालले पार्टीभन्दा माथि उठेर मेयरलाई सघाउन आफू तयार रहेको जानकारी दिए । काठमाडौंको फोहोर व्यवस्थापनका लागि मेयर बालेनले लिएको सक्रियताको वडा अध्यक्ष रिजालले खुलेर प्रशंसा गरेको भेटमा सहभागी बालेनका एक सहयोगीले आजको प्रेसलाई जानकारी दिए ।