दुवै मिर्गौला फेल भएका पूर्वप्रधानसेनापति कटवालको उपचार हुँदै

रेडियो दर्पण संवाददाता

२९ जेठ, काठमाडौं ।

पूर्वप्रधानसेनापति रूक्माङ्गद कटवालको स्वास्थ्यमा अचानक गम्भीर समस्या आएको छ । उहाँका दुवै मिर्गौला फेल भएका छन् । दुवै मिर्गौलामा समस्या आएपछि कटवालको छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु गरिएको हो ।

जानकारी अनुसार उहाँको अहिले डायलासिस चलिरहेको छ । मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको सल्लाह अनुसार पूर्वप्रधानसेनापतिको अहिले प्रत्यारोपणको तयारी शुरु गरिएको हो । तपाईंलाई जानकारी गराउ केही समयअघि कटवालको प्रोष्टेडको शल्यक्रिया गरिएको थियो ।

कटवाल प्रकरण
२०६६ वैशाख २१ गते ‘कटवाल प्रकरण’ का कारण तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ९ महीनामै सरकारबाट बाहिरिनुपरेको थियो । नागरिक सरकारले दिएको आदेश पालना नगरेको भन्दै प्रचण्ड सरकारले कटवालसँग स्पष्टीकरण मागेपछि तीन हप्तासम्म विवाद चलेको थियो ।

२०६६ साल वैशाख २० मा उहाँले प्रधान सेनापति रूक्माङ्गद कटवाललाई बर्खास्त गरेर कुलबहादुर खड्कालाई निमित्त प्रधान सेनापति बनाउनुभयो । आफ्नो पद बचाउनका लागि प्रधान सेनापति राजनीतिक शक्तिहरूको समर्थन जुटाउन लागि पर्नुभयो । माओवादीको यो कदमलाई कू र सत्ता कब्जा भएको दाबी गर्दै उहाँले आफ्नो पक्षमा समर्थन जुटाउनु भएको थियो ।

निर्वाचनमा राजनीतिक चुनौती पेस गर्न नसकेका काङ्ग्रेस र एमालेलाई के लाग्यो भने माओवादीलाई ठेगान लगाउने एक मात्र संस्था सेना नै हो । उनीहरूले माओवादीले गरेको निर्णयको विरोध गरे । धेरैखाले आइरोनी सतहमा देखिए । जब प्रधानमन्त्री प्रचण्डले सेनापति कटवाललाई हटाएको घोषणा गर्नुभयो, गठबन्धन सरकारमा सहभागी अन्य दलले आफ्नो समर्थन फिर्ता लिइसकेका थिए ।

त्यही रात तत्कालिन राष्ट्रपति रामवरण यादवले अनपेक्षित कदम चाल्दै सोझै सेनापतिलाई पत्र लेखेर आफ्नो पदमा अडिग रहन र प्रधानमन्त्रीको आदेश उल्लङ्घन गर्न आदेश जारी गर्नुभयो । संवैधानिक सीमा नाघ्दै निर्वाचित कार्यकारीलाई बाइपास गरेर नै राष्ट्रपतिले सो कदम उठाउनु भएको हो ।

तर प्रधानमन्त्रीले पनि उस्तै गल्ती गर्नुभएको थियो । राष्ट्रपतिमार्फत सेनापतिलाई बर्खास्त गराउनु साटो उहाँले सोझै बर्खास्त गर्ने निर्णय गर्नुभएको थियो । अरु सबै पार्टीलाई गठबन्धन सरकारबाट आफ्नो समर्थन फिर्ता गर्न लगाएर माओवादीलाई अल्पमतमा पार्न नेपथ्यबाट भारतले नै मुख्य भूमिका खेलेको थियो ।

यी घटना घटेकै हप्ताको सुरूआतमै भारतीय राजदूतले राष्ट्रपति रामवरण यादवसँग बिहान ६ः३० बजे नै भेटघाट गरेका थिए । नेपाली सेनाको सुप्रिम कमान्डरसमेत रहेका यादवलाई राजदूतले माओवादीको सेनापति हटाउने निर्णयविरूद्ध बलियो भएर उभिन आग्रह गरेको बताइन्छ । यो घटनाकै सेरोफेरोमा भारतीय राजदूतावासका कनिष्ठ कर्मचारीले राष्ट्रपतिका सल्लाहकारहरूसँग नजिकको सम्बन्ध बनाएको विश्वास गरिन्छ ।

राष्ट्रपतिले सो कदम चालेको भोलिपल्ट दिउँसो माओवादी सचिवालयको बैठक बस्यो । बैठकलगत्तै प्रधानमन्त्री दाहालले नेपाल टेलिभिजनमार्फत सम्बोधन गर्दै पदबाट राजीनामा दिनुभयो । राष्ट्रपति यादवले कटवाल प्रकरणमा आफूले तत्कालीन सरकारलाई साथ नदिएर नेपाली सेनाको सङ्गठन ध्वस्त हुनबाट बचाएको बताउँदै आउनु भएको छ ।