जम्बो टोलि सहित यी नेताहरु माओवादीमा इन्ट्री: देउवा जिल्लै ! (नामावली सहित)

रेडियो दर्पण संवाददाता

३० जेठ, काठमाडौं ।

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह नेकपा माओवादी केन्द्रमा प्रवेशको तयारी गरेका छन् । गुटबन्दी र व्यक्तिवादी स्वार्थमा लिप्त भएपछि कांग्रेसले लखेटेका सिंह माओवादी प्रवेशको तयारीमा लागेका हुन् ।

सिंहले क्रियाशीलता सदस्यतादेखि स्थानीय तह निर्वाचनसम्म जिल्लामा कांग्रेसलाई कमजोर बनाउन सक्रिय रहेका छन् । जिल्लाको सिफारिसमा केन्द्रले उनीमाथि विधानअनुसार कारवाहीको तयारी गरिरहेका बेला सिंहले माओवादी प्रवेश गर्न सम्वादलाई तीव्रता दिएका छन् ।

कांग्रेसमा बसेर पार्टीका नेताहरुविरुद्ध षडयन्त्र रच्ने, अधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेल्ने, पार्टी नेतृत्वविरुद्ध जथाभावी बोल्ने अमरेशले माओवादी प्रवेश गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चार चरणमा वार्तासमेत गरिसकेका छन् ।

अमरेशको योजनामा सर्लाही क्षेत्र ४ का माओवादीका यादव थरका एक स्थानीय नेताको समर्थन लिने र उनको श्रीमतीलाई प्रदेशसभा सदस्यमा उठाउने र आफू संघीय सांसदमा लड्ने आन्तरिक तयारीमा सिंह रहेको माओवादीकै एक नेताले बताएका छन् ।

त्यस्तै, अमरेशले आफ्ना एक ‘ठेकेदार भतिज’ लाई पनि समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य बनाउन लविङ गरिरहेका छन् ।

अमरेशको यी लगायत अरु पनि केही मागहरु प्रति माओवादी अध्यक्ष प्रचण्ड र सर्लाही जिल्ला नेतृत्व सकारात्मक रहेको माओवादीका ती नेताले बताएका छन् ।

यसअघि पनि अमरेशले कांग्रेस नेतृत्वसँग घुर्की लगाउँदै प्रचण्डसँग मिल्न जाने बताउने गरेका थिए । अमरेशलाई विगतमा प्रचण्डले नै ग्रुमिङ गरेको र माओवादीको नाम बझाएर करोडौं अकुत सम्पत्ति आर्जन गरेको चर्चा हुने गरेको छ ।