ढल्याे एमालेकाे खम्बा, लामाे कारण लेख्दै चर्चित नेत्री भण्डारीद्वारा एमाले परित्याग

रेडियो दर्पण संवाददाता

३० जेठ, काठमाडौं ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)सँग गठबन्धन गरिएको भन्दै नेकपा (एमाले)की नेतृ मञ्जु नेपाल भण्डारीले पार्टी छोडेकी छन् ।

एमालेबाट सुनकोसी गाउँपालिका उपाध्यक्ष उम्मेदवारी दिएकी मञ्जुलाई फिर्ता लिन लगाएर माओवादी केन्द्रबाट उम्मेदवार बनाइएपछि उनी रुष्ट थिइन् । भण्डारीले शनिबार सामाजिक सञ्जालमार्फत पार्टी छोडेको घोषणा गरेकी हुन् ।

‘महिला हक र न्यायका लागि २४ वर्षसम्म अनवरत संघर्ष गर्दागर्दै षड्यन्त्र र जालझेलपूर्ण तरिकाले गरिएको राजनीतिक हत्याको विरुद्धमा विद्रोह गर्ने निर्णयमा पुगेँ । आजको मितिदेखि नेकपा एमाले परित्यागको घोषणा गर्दछु,’ भण्डारीले फेसबुकमा लेखेकी छन् ।

एमाले–माओवादी गठबन्धनपछि सुनकोसी गाउँपालिका अध्यक्षमा एमालेबाट टपिन्द्र तिमल्सिना र उपाध्यक्षमा माओवादी केन्द्रबाट दुर्गा थापालाई उम्मेदवार बनाइएको छ ।

राष्ट्रको हितका लागि गठबन्धन गरिएको हो : प्रवक्ता महरा

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रियता, संघीयता, लोकतन्त्र, संविधानमाथि खतरा हुन थालेपछि पाँच दलीय गठबन्धन गर्नु परेको बताएका छन् ।

पाँच दलीय गठबन्धनले शनिबार तुलसीपुरमा आयोजना गरेको प्रशिक्षण तथा उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र, संविधान, राष्ट्रियताका लागि गठबन्धनको आवश्यकता परेको स्पष्ट पारे । उनले भने, ‘व्यक्तिको भन्दा पनि राष्ट्रको हितका लागि गठबन्धन हो ।’

प्रशिक्षण कार्यक्रममा उपस्थित कार्यकतालाई प्रवक्ता महराले ढुक्क भएर पाँच दलीय गठबन्धनका उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले मुलुकमा तानाशाही प्रवृत्ति रहेको भन्दै यसको अन्त्यका लागि नै यो गठबन्धन भएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुखका उम्मेदवार गेहेन्द्र गिरी, उपप्रमुखका उम्मेदवार जोगबहादुर राणा, एकीकृत समाजवादीका केन्द्रीय सदस्य हिराचन्द्र केसी, जनमोर्चाका नेता भर भण्डारीलगायतले मन्तव्य व्यक्त गर्दै यो गठबन्धन रहेको नभई संविधानको रक्षाका लागि भएको बताए ।