युवतीमाथि सामूहिक बलात्कार, होटल सञ्चालकसहित ४ जना पक्राउ

रेडियो दर्पण संवाददाता

३१ जेठ, काठमाडौं ।

काठमाडौँको बौद्धमा २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं बस्ने २४ वर्षका रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ घर भई हाल काठमाडौं बस्ने रिन्जेन शेर्पा, सर्लाहीको बागमती घर भएका बौद्ध बस्ने ३४ वर्षका उत्तम लामा र सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ घर भई बौद्ध बस्ने आङ्निमा भन्ने झ्यापा ढिल्ले शेर्पा रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं बौद्धस्थित एक गेष्ट हाउसमा आइतवार दिउँसो २ बजेतिर ३ जनाले २४ वर्षीय एक युवतीलाई पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा होटल मालिक आङनिमा समेत रहेका छन् उनलाई मतियारका रुपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बलात्कारपछि फरार रहेका उनीहरुलाई प्रहरीले १६ घण्टाभित्र पक्राउ गरेको हो । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौं बाट ५ दिनको म्याद लिई प्रहरी वृत्त बौद्धबाट अनुसन्धान भइरहेको जनाइएको छ ।

यो पनि पहिरो खसेपछि अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक खुल्यो

पाल्पा । पहिरो खसेपछि अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडकखण्ड अहिले पुनः सञ्चालन भएको छ । पाल्पाको रामपुुर नगरपालिका–१ स्थित स्याउलीबजार नजिकै पहिरो खस्दा आइतबार दिउँसो ३ बजेदेखि अवरुद्ध बनेको सडक सोमबार अपराह्नबाट सञ्चालनमा आएको छ ।

करिडोरअन्तर्गतको निर्माणाधीन कालीगण्डकी पक्की पुल नजिकै स्याउलीबजारदेखि तिरतिरेधाराको बीच भागमा खसेको पहिरो सोमबार बिहान १० बजेदेखि हटाउने काम भएको हो ।

करिब सात घण्टाको समय लगाएर पहिरो हटाइएपछि यस सडकखण्ड भएर गुड्ने सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेको ज्ञानमञ्जरी प्राथमिक विद्यालयका प्रधानाध्यापक दानस मल्लले जानकारी दिनुभयो । यस क्षेत्रमा पटक पटक माथिबाट पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।

सडक अवरुद्ध हुँदा रामपुरदेखि काठमाडाँै, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका लागि छुटेका गाडी र काठमाडाँै, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका ठाउँबाट रामपुर आउँदै गरेका गाडीमा सवार यात्रुहरु अलपत्र परेका थिए ।