एमसीसी पास गर्न प्रचण्ड-माधव तयार, यस्ताे छ सर्त !

रेडियो दर्पण संवाददाता

३१ जेठ, काठमाडौं ।

आगामी निर्वाचनमा गठबन्धन गरी चुनाव लड्ने सर्तमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सहयोग नगरे गठबन्धन तोड्ने चेतावनी दिएलगत्तै दुवै दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने भए एमसीसी पास गर्न आफूहरु तयार रहेको बचन दिनुभएको हो ।

शुक्रबार र शनिवार बालुवाटारमा भएको छलफलमा एमसीसी पास गर्न सहयोग गरेर निर्वाचनमा मिलेर जान आफू तयार रहेको देउवाले बताउनु भएको छ । आफूहरुले हिजो एमसीसीको चर्को विरोध गरेकोले त्यसलाई त्यसमा केही क्लज राखेर पास गर्नुपर्ने छलफलमा प्रचण्ड र नेपालको माग गर्नुभएको थियो ।

त्यसमा देउवाले उपाय निकाल्नुहोस भनेपछि शनिवार दुवै नेताले राष्ट्रिय हित प्रतिकुल नहुने गरी भन्ने पदावली थपेर संसदमा लैजाने सहमती भएको बालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा सहभागी नेताहरुका अनुसार जनस्तरमा प्रचण्ड र नेपालको तिव्र विरोध हुने भएपछि त्यो पदावली राखिएपनि एमसीसीको मुल ड्राफ्टमा कुनै परिवर्तन गरिएको छैन ।

शनिबारको बैठकमा सरकार सञ्चालन संयन्त्रका संयोजक रामचन्द्र पौडेल पनि सहभागी हुनुहुन्थ्यो । बैठकपछि पौडेलले एमसीसी पास गर्न प्रचण्ड र माधव नेपाल नकारात्मक नभएको प्रतिक्रिया दिनुभएको छ ।

एमसीसी पास गर्न कुरा पार्टीबाट निर्णय गराउन प्रचण्ड र नेपाललाई सहज छैन । देउवासँग आन्तरिक सहमती गरिसक्नु भएका माधव र प्रचण्डले आफ्नो पार्टीमा छलफल चलाउने हुनुभएको छ ।