ओली -प्रचण्ड प्याचअपका लागी पर्खाल बनेर ठडिएको प्रचण्डको ‘१९ पन्ने बम बार्ड द हेडक्वाटर !’

रेडियो दर्पण संवाददाता

३१ जेठ, काठमाडौं ।

पछिल्लो समय नेपालमा फेरी एक पटक बाम गठबन्धनको बहस गर्माएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुको बाक्लो उठबसले बाम गठबन्धनको बहस गर्र्माएको हो ।

माओवादी केन्द्र र एमालेका नेताहरुको बसउठ निकै बाक्लिएको छ तर बाम एकताको सार्थक स्वरुप भने फेला पार्न सकेका छैनन् । स्थानिय तहको निर्वाचन परिणाम र अझ प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग सैन्य सम्झौताको तयारीनै गरे पछि बाम गठबन्धनका लागी अनुकुलता थप अंकुराएको बताइन्छ ।

२०७४ सालमा एकाएक बाम गठबन्धनको घोषणा गरेर कार्यकर्तालाई मात्रै होइन जनतालाई पनि सप्राइज दिएका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरी त्यस्तै सप्राइज दिन सक्छन् त ? भन्ने प्रश्न उठेको छ तर वस्तुगत रुपमा त्यो तत्काल सम्भव नदेखिएको भन्नेहरु पनि धेरै देखिएका छन् ।

बाम गठबन्धन गर्दै एमाले र माओवादी केन्द्र विच एकतानै गरेका ओली र प्रचण्डको दुखान्त डिभोर्स भएको छोटो समय मात्रै भएको छ । यो विचमा राजनितीले धेरैवटा घुम्ती र मोडहरु पार गरेको छ चाहेर पनि सजिलैले ओली प्रचण्डको प्याचअप सम्भव देखिँदैन ।

हुन त राजनितीमा स्थायी शत्रु र स्थायी मित्रु कोहि पनि हुँदैनन् भनिन्छ त्यसमा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राजनितीलाई सम्भावनाको खेल भन्ने गर्दछन् । पहिले पनि एमालेसँग सहकार्यमा रहँदा काग्रेससँग र काग्रेससँग सहकार्यमा रहँदा एमालेसँग मिलेको उनको विगत देखिन्छ । के यो पटक पनि प्रचण्डले अर्को छलाङ मार्लान त ? भन्ने सवाल जोडतोडले उठेको छ ।

प्रचण्ड र ओलीको पुनर्मिलनका लागी सबैभन्दा ठुलो बाधक भनेको तत्कालिन नेकपाकालमा प्रचण्डले ओलीमाथी लगाएको १९ पन्ने आरोप पत्र रहेको विश्लेषण पनि भएको छ । तत्कालिन अवस्थामा प्रचण्डले अ‍ोलीमाथी भ्रष्टाचारी लगायतको फौजदारी अभियोगनै आकर्षित हुने खालका आरोप लगाउँदै १९ पन्ने आरोपपत्र सचिवालय बैठकमा पेस गरेका थिए त्यो बिषय फेरी पेचिलो बन्ने देखिन्छ ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीले संसद विघठन गर्ने अघिल्लो दिन प्रचण्डको निवास खुमलटारमै पुगेर १९ पन्ने आरोपपत्र फिर्ता लिन र नयाँ ढंगले अघि बढ्न अनुरोध गरेका थिए त्यसका लागी प्रचण्ड तयार नभए पनि ओलीले संसदनै विघठन गरिदिएका थिए त्यसयता माओवादी , काग्रेस सहितको गठबन्धन देखि एमाले विभाजन सम्मका परिणतीहरु देखिएको छ ।

१९ पन्नेलाई ओली प्रचण्डले दुवैले प्रतिष्ठाको बिषय बनाएका छन् । प्रचण्डले सो आरोपपत्रलाई बम बार्ड द हेडक्वार भन्दै निकै फुर्ति गरिरहेका छन् भने ओली पनि प्रचण्डले गल्ती स्विकार गरेर माफी नमागे सम्म लचक नहुने पक्षमा देखिएका छन् । ओली प्रचण्ड इगोको लडाइँ चलिरहेका बेला एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरु भने फेरी बामएकताको गाँठो फुकाउँन कस्सिएका छन् ।

२३ फागुन २०७८ मा सर्वोच्च अदालतले नेकपा भंग गरेपछि ब्यूँतिएको एमाले र माओवादी केन्द्रले महाधिवेशन गरिसकेका छन्। अदालतको फैसलापछिको १४ महिनामा ठूला राजनीतिक परिवर्तन नभए पनि एमाले विभाजित भएको छ । उसले नेतृत्व गरेका केन्द्र र प्रदेशका सत्ताहरु ढलेका छन्।दुई पार्टीको एकता भंग भएकाले एमाले–माओवादी नेताहरुको सम्बन्ध पनि औपचारिक सीमित भएको छ।