श्रीलंकामा फेरि तनाव, नवनिर्वाचित राष्ट्रपतिले लिए बदला

रेडियो दर्पण संवाददाता

६ साउन, काठमाडौं ।

नवनिर्वाचित राष्ट्रपति रानील बिक्रमासिंघेको ठाडो निर्देशनमा श्रीलंकाको राजधानी कोलम्बोमा सुरक्षाबलले प्रदर्शकारीको मुख्य धर्ना स्थलमा शुक्रबार बिहानैदेखि जनतामाथी दमन सुरु गरेको छ।

सुरक्षाकर्मीहरूले मुख्य प्रदर्शनस्थलमा रहेका टेन्टहरू एक-एक गर्दै भत्काउदै सुरक्षाबलले दमन सुरु गरेका हुन् ।

यसैबीच राष्ट्रपति भवनभित्र रहेका प्रदर्शनकारीलाई बाहिर निकाल्न दर्जनौँ प्रहरी र कमाण्डर भित्र पसिसकेका छन् । उनीहरूले भित्र रहेका मानिसलाई राष्ट्रपति भवनबाहिर निकालेर खेदाइरहेका छन् ।

यसक्रममा आफ्ना भिडियो पत्रकारमाथि समेत कुटपिट भएको बीबीसीले लेखेको छ । एक सैनिकले पत्रकारको मोबाइल खोसेका छन् । यति मात्र नभई पत्रकारको मोबाइलबाट भिडियोसमेत डिलिट गरिदिएको बीबीसीले जनाएको छ ।

सेनाको यो कारबाही रानिल विक्रमसिंघे राष्ट्रपति बनेपछि भएको हो । जनताका बीच अलोकप्रिय मानिएका रानिलले प्रदर्शनकारीको विरोधमा कारबाहीको कुरा गरेका थिए ।