परीक्षा हलमा छिर्नुभन्दा पहिले छात्राको ब्रा समेत खोलाएपछि…

रेडियो दर्पण संवाददाता

काठमाडौं ।

भारत, केरलाको कोल्लम जिल्लाको एक परीक्षा केन्द्रमा राष्ट्रिय योग्यता र प्रवेश परीक्षा (एनईईटी) मा सहभागी हुन आएका छात्राहरूले एउटा तितो घटनाको भागिदार बन्नु परेको छ ।

त्यहाँ परीक्षा दिन आएका छात्राहरुलाई परीक्षा हल प्रवेशपूर्व ब्रा खोल्न भनिएको थियो ।

सुरक्षा जाँचका क्रममा ब्राको हुकका कारण मेटल डिटेक्टरमा बिप आवाज आउन थाल्यो ।

त्यसपछि सबै केटीहरूले आफ्नो ब्रा फुकालिदिए । घटना आइतबार कोल्लम जिल्लाको मार्थोमा इन्स्टिच्युट अफ इन्फर्मेशन टेक्नोलोजीमा भएको थियो । ती मध्ये एक छात्राका पिताले यस विषयमा एफआईआर (उजुरी) दर्ता गरेका छन् । एफआईआरपछि मात्र यो कुरा बाहिर आएको हो ।

छात्राका अनुसार उनले ब्रा हटाउन अस्वीकार गरेपछि अनुसन्धानमा खटिएका महिला कर्मचारीलाई रिस उठ्यो, कुरा नमानेको खण्डमा परीक्षामा नबस्ने धम्की दिइयो ।

महिला कर्मचारीले विद्यार्थीलाई तिम्रा लागि भविष्य बढी महत्त्वपूर्ण छ कि भित्री वस्त्र रु भनेर प्रश्न पनि गरेकी थिइन् । केवल यस (ब्रा) लाई हटाउ, हाम्रो समय बर्बाद नगर भन्दै ती महिलाहरूले विद्यार्थीलाई धम्काएको खुलेको छ । यो धेरै केटीहरूमाथि भयो ।

परीक्षामा बस्न नपाइने डरले विद्यार्थीले ब्रा दिन बाध्य भएका हुन् । ती विद्यार्थीले स्तन छोप्नका लागि सल पनि मागेको बताइन्छ । समाचार अनुसार अन्य केटीलाई पनि धातुको बटन र गोजीका कारण जिन्स फुकाल्न भनिएको थियो ।

छात्राहरुका अनुसार परीक्षा दिएर बाहिर निस्कँदा सबै गोप्य कपडा एकै ठाउँमा फ्याँकिएको थियो । उजुरीमा उल्लेख भए अनुसार परीक्षा केन्द्रमा करिब ९० प्रतिशत छात्राले भित्री पोशाक फुकाल्नु परेको थियो ।

अर्कोतर्फ, संस्थानले भने त्यस्तो कुनै घटनाको खण्डन गरेको छ । तर, कोल्लमका प्रहरी प्रमुख केबी रविले मुद्दा दर्ता भएको पुष्टि गरेका छन् ।

प्रहरीलाई दिएको उजुरी पत्रमा बुबाले आफ्नी छोरीले भित्री कपडाले भरिएको कोठा देखेको बताएका छन् । परीक्षा केन्द्रमा मानसिक यातना भोग्दै धेरै केटीहरु रोइरहेका थिए ।

परीक्षा नियमावलीअनुसार परीक्षामा चिटिङ्गबाट बच्न परीक्षा केन्द्रमा कुनै पनि विद्यार्थीले धातुको वस्तु वा सहायक सामग्री लैजान नपाउने व्यवस्था गरिएको छ ।

एडभाइजरीमा बेल्टबारे उल्लेख भए पनि ब्रा जस्ता निजी पोशाक फुकाल्नु पर्ने कुरा लेखिएको छैन । घटनाको अनुसन्धान अझै जारी छ ।