राष्ट्रपतिद्वारा जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त

रेडियो दर्पण संवाददाता

१५ साउन, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरेको उल्लेख छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका थिए । संसदीय छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन दिएपछि प्रधानमन्त्री देउवाले उनलाई पुन: अर्थमन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार शर्माको शपथ ग्रहण आइतबार नै ५ बजेपछि हुनेछ ।

गृहमन्त्री खाणद्वारा खोटाङ भूूकम्पबारे जानकारी
गृहमन्त्री बालकृष्ण खाणले आज बिहान खोटाङमा गएको ६ रेक्टर स्केलको भूकम्प, त्यसबाट भएको क्षति र सरकारले गर्नुपर्ने उद्धारबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिनुभएको छ ।

गृहमन्त्री खाणले खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी र सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक कमल गिरीलाई टेलिफोन गरी भूकम्पको क्षति र गर्नुपर्ने उद्धारबारे जानकारी लिनुभएको हो । उहाँले प्रभावित भएका भए उचित व्यवस्थापन गर्न तथा जिल्ला र प्रदेशको स्रोतसाधनले नपुगेमा केन्द्रमा जानकारी गराउन निर्देशन दिनुभएको छ ।

खोटाङका प्रमुख जिल्ला अधिकारी सेढाईंका अनुसार जिल्लाको मार्तिमविर्ता केन्द्र बनाएर भूकम्प गएको थियो । भूकम्पबाट साकेला गाउँपालिका–५ वृष्टिका विकास कटुवालको ढुङ्गाको घर, डाडागाउँका प्रकाश प्रधान, हलेसी तुवाचुङ.नगरपालिका–९ सल्लेका ध्रुव पौडेल र सोही नगरपालिका–७ का सयङ्खुका गङ्गा राईको घरमा क्षति पुगेको छ ।

गृहमन्त्रालयका अनुसार अहिलेसम्म क्षतिको पूर्ण विवरण आएको छैन । सूचना प्राप्त हुनासाथ परिचालित हुने गरी नेपाली सेना, प्रहरी र विपद् व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको प्रजिअ सेढाईंले जानकारी दिनुभएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ ।