खुशीको खबर पेट्रोलियम पदार्थको मूल्य घटेर आयो !

रेडियो दर्पण संवाददाता

१६ साउन, काठमाडौं ।

भारतले पुनः पेट्रोलियम पदार्थको मूल्य घटेको सूची पठाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले सोमबार पठाएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजेलको मूल्य प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेको छ । यसअघि पनि भारतबाट आएको मूल्यसूचीमा पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेलको मूल्य प्रतिलिटर १६ रुपैयाँ ५६ पैसाले घटेर आएको थियो । यद्यपि नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको थिएन ।

पछिल्लो मूल्यसूचीमा पेट्रोल र डिजेलको मूल्य घटेसँगै निगमको पाक्षिक नोक्सानी अब करिब रु ७५ करोडमा झर्ने भएको बताइएको छ । निगम अब लामो समयपछि नाफामा गएको देखिन्छ । किनकी निगमले मूल्य नघटाए पेट्रोलमा प्रतिलिटर करिब २ रुपैयाँ नाफा हुनेछ । यद्यपि डिजेलमा मूल्य नघटाए पनि प्रतिलिटर १० रुपैयाँ नोक्सान हुने बताइएको छ ।

अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको मूल्यमा गिरावट आएको छ । त्यसैले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य दोस्रो पटक घटेर आएको हो । अहिले अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब १०३ डलर रहेको छ ।

यो पनि…धौलागिरी लघुवित्तले साउन २४ देखि आइपिओ निष्काशन गर्दै
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि आइपिओ निश्काशन गर्ने भएको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका कुल ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आइपिओ निष्काशन गर्न लागेको हो ।

जसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत बराबरको आइपिओ निष्काशन गर्न लागेको हो । लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। आइपिओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान गरेको छ ।