सरकारले गर्‍यो सचिवहरूको सरुवा

रेडियो दर्पण संवाददाता

१९ साउन, काठमाडौं ।

नेपाल सरकारले सचिवहरूको सरुवा गरेको छ । सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई जगेडामा राख्दै महिला बालबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा तानेको छ ।

उनको ठाउँमा लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गरिरहेका सचिव डिल्लीराम शर्मालाई ल्याइएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि अर्थ सचिव मरासिनी बिदामा बसेका थिए ।

भेलछडा–सिलगढी खानेपानी आयोजनाको बाटो खुला
वन तथा वातावरणमन्त्री प्रदीप यादवले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने डोटीको भेलछडा, काडामाडौँ, गैरागाउँ तथा सिलगढी खानेपानी आयोजना निर्माणमा वर्षौदेखि हुँदै आएको अवरोध खुला गरिदिनुभएको छ । उक्त आयोजना निर्माणका लागि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले निकुञ्जमा समस्या हुने भन्दै खानेपानी निर्माणकार्यमा विमति जानाउँदै आएको थियो ।

भेलछडाको पानी सिलगढी ल्याउन निकुञ्जले विमति जनाएपछि त्यहाँका नागरिक खानेपानी नपाउने भन्दै निरास भएका थिए । मन्त्री यादवले यही साउन १८ गते मन्त्रिस्तरीय निर्णयबाट स्थानीय उपभोक्तालाई सहजरूपमा खानेपानी उपलब्ध गराउन, खानेपानीको व्यावसायिक प्रयोजन नगर्ने शर्तमा हाल स्वीकृत गर्नुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।

साथै उहाँले डिपिआर संरचनामा थप गर्न नपाउने गरी विभागले तोकिदिएको उपयुक्त विधिअनुसार आयोजना सञ्चालन तथा मर्मत गर्ने निर्णय पनि गर्नुभएको छ । यसैगरी मन्त्री यादवले खप्तड राष्ट्रिय निकुञ्जको नियमावली, २०४४ को नियम ३४ बामेजिम उक्त खानेपानी आयोजनाको सहमति उपलब्ध गराउनुपर्ने निर्णय पनि गर्नुभएको छ ।