आजदेखि जग्गा धितो राखेर पाउने ऋणमा नयाँ सीमा !

रेडियो दर्पण संवाददाता

२० साउन, काठमाडौं ।

जग्गा धितोमा राखेर पाउने ऋणको नयाँ सीमा आजबाट लागू भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरेको घरजग्गा धितोबाट पाइने

ऋणको सीमा काठमाडौं उपत्यकाका लागि ३० प्रतिशत र बाहिरका लागि ४० प्रतिशतको व्यवस्था कार्यान्वयनमा आएको हो ।

नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशिका जारी गर्दै घरजग्गा धितो राखी नयाँ कर्जा प्रवाह गर्दा, थप कर्जा दिदा वा कर्जा नविकरण गर्दा काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र काठमाडौ उपत्यकाबाहिर बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्नेछ । यसअघि यस्तो अनुपात काठमाडौ उपत्यकाको हकमा ४० प्रतिशत र अन्यको हकमा ५० प्रतिशत थियो ।

अब सबै लघुवित्त वित्तीय संस्थाहरुले ऋणपत्र जारी गर्न पाउने नेपाल राष्ट्र बैंकले सबै लघुवित्त वित्तीय संस्थालाई ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएका व्यवस्थाहरु कार्यान्वयन गर्न राष्ट्र बैंकले लघुवित्त संस्थाहरुका लागि जारी गरेको एकीकृत निर्देशनमार्फत सबै लघुवित्त संस्थाले सहायक आवधिक ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरेको हो ।

सञ्चित नोक्सानी बाँकी नरहेका लघुवित्त वित्तीय संस्थाले प्राथमिक पुँजीको बढीमा सतप्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन पेस गर्न सक्ने निर्देशनमा उल्लेख छ ।

यसअघि लघुवित्तले प्राथमिक पुँजीको बढीमा २५ प्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न सक्ने व्यवस्था थियो ।

अवरुद्ध बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो
कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्ड तीन दिनपछि बिहीबार साँझदेखि सञ्चालनमा आएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडक काभ्रेभिरमा गएको सुक्खा पहिराका कारण गत सोमबारदेखि अवरुद्ध बनेको थियो ।

अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा सुक्खा पहिरो गएको र सोही स्थानको घोप्टे ओढारमा सडक भासिएपछि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो । सडक सञ्चालन भएसँगै सवारीसाधन ओहोरदोहोर गर्न थालेका बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । बीच बाटोमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । पहिराले काभ्रेभिरमा तीन मिटर सडक पुरिएको थियो भने सोही स्थान नजिकको घोप्टेभिरमा करिब ५० मिटर सडक भासिएको थियो ।

मौसममा सामान्य सुधार आएपछि बुधबारदेखि सडक मर्मतको काम थालिएको छ । सडक स्तरोन्नतिमा परिचालन गरिएको निर्माण कन्स्ट्रक्सनका उपकरण र जनशक्ति परिचालन गरेर बेनी–जोमसोम सीधा यातायात सञ्चालनमा ल्याइएको सुपरभाइजर शेरचनले बताउनुभयो । काभ्रेभिरमा सडक अवरुद्ध हुँदा पैदलयात्री पैरोथाप्लाको पदमार्ग हुँदै घुमाउरो बाटोबाट यात्रा गर्न बाध्य थिए ।

वर्षाका कारण खोलामा आएको बाढीले म्याग्दीको बेगखोलामा समेत अवरुद्ध भएको सडकलाई खुलाइएको छ । वर्षात्को समयमा गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको विभिन्न स्थानमा बाढीपहिराले सडक अवरुद्ध हुने गरेको छ ।

बेनी–जोमसोम ७६ किमी सडकको म्याग्दी खण्ड बर्खाको समयमा बाढीपहिराको उच्च जोखिम छ । म्याग्दी–काभेभिर सडकको सिमानाको बाँदरजुँगे भिर आसपासमा छिनछिनमा खस्ने पहिराले यात्रुले जोखिममा पर्ने गरेका छन् । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत विस्फोटक पदार्थको प्रयोगका कारण पहिराको जोखिम अत्यधिक छ ।