२६ पुस, काठमाडौं ।
सरकारले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८८५ रुपैयाँ भाडा घटेको छ ।
यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ८ हजार ३९५ रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ५१० रुपैयाँ तिरे पुग्नेछ । यससँगै धनगढीको अधिकतम भाडा १६ हजार १४० रुपैयाँमा झरेको छ ।
काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६८५ रुर्पैयाँ भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा १४ हजार २०५ रुपैयाँ कायम भएको छ । काठमाडौंबाट भद्रपुरका लागि ६०० रुपैयाँ भाडा घटेको छ ।
विराटनगरलाई ४८५, जनकपुरका लागि २६०, भरतपुरका लागि २१५, पोखराका लागि ३२० कम तिरे पुग्नेछ ।
काठमाडौंबाट भैरहवाका लागि ४१०, नेपालगन्जमा ६५५, तुम्लिङटारका लागि ३७०, सिमराका लागि १८० , सुर्खेतका लागि ६९० र राजविराजका लागि ४११ रुपैयाँ भाडा कम भएको छ ।
यो भाडादर २७ पुसबाट लागु हुनेछ ।
सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिकरूपमा बढ्दो छ । दुर्घटनामा कमी आए पनि मृत्युदर भने बढेको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा जिल्लामा ५२ दुर्घटना हुँदा एक सय ३७ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा छ । यही अवधिमा दुर्घटनाबाट ८२ गम्भीर र एक सय ३९ सामान्य घाइते भएका छन् । गत आव २०७८÷७९ मा ९५ दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको थियो । चालु आव २०७९÷८० को पाँच महिनामा ३६ सवारी दुर्घटनामा १८ जनाको मृत्यु भएको कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रदीप थापाले बताउनुभयो ।
“मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा, सवारीलाई उछिन्न खोज्ने, यान्त्रिक गडबडी, तीव्रगतिमा सवारी चलाउँदा, सडक चौपाया, क्षमताभन्दा बढी यात्रु बोकेर सवारी चलाउँदा, ट्राफिक नियम उल्लङ्घन, बढ्दो सवारी चापका कारण दुर्घटना हुने र दुर्घटनाबाट मानिसको मृत्युदर बढेको हो”, उहाँले भन्नुभयो ।
दुर्घटनाको अनुसन्धान गर्दा जिल्लामा भएका अधिकांश सवारी दुर्घटना चालककै बढी गल्तीका कारण हुने गरेको प्रहरीले जनाएको छ । यसका कारण वार्षिक धेरै मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ । जिल्लामा सबैभन्दा बढी दुर्घटना मोटरसाइकल, साना चारपाङ्ग्रे सवारीसाधन, यात्रुवाहक बस र टिपर रहेका छन् । यसबाहेक अटो, रिक्सा, साइकलयात्रीले पनि दुर्घटनामा परेर ज्यान गुमाउनुपरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।