काठमाण्डौः
विमान दुर्घटनामा परी नातिनीको निधन भएको खबरले हजुरआमा सुभद्रा विक्षिप्तझैँ भएका छन् । अञ्जुलाई सम्झेर हजुरआमा भक्कानिने गर्छिन् । नातिनीको वियोगमा उनले खानपिउनसमेत छोडेकी छन् । छिमेकी र आफन्त को–पाइलट अन्जुको माइतीघरमा पुगेर सुभद्रालाई सान्त्वना दिने काम गरिरहेका छन् । तर हजुरआमा बोल्ना साथै नातिनी सम्झेर भक्कानिने गर्छिन् ।
हजुरआमाले नातिनीमा अदम्य साहस रहेको र जिम्मा लिएको काम पूरा गरेरै छाड्ने गरेको बताइन् ।उनले नातिनी अन्जुसँग विमान दुर्घटनाको १५ दिनअघि भेट भएको बताइन् । विमान ‘हल्ट’ गर्नुपर्दा विराटनगरमा छँदा को–पाइलट अन्जु माइतीमै रात्रि विश्राम गर्ने गर्थिन् । भेटमा हजुरआमाले नातिनी अञ्जुलाई माघे सङ्क्रान्तिमा ज्वाइँलाई लिएर माइती आउन निम्ता दिएकी थिइन् । तर निम्ता अधुरै रह्यो ।
अञ्जुलाई पुलाउ र तारेको आलु खुबै मन पर्ने भन्दै हजुरआमा सुभद्राले माइतीको पक्का घर पनि अन्जु आफैँले ठड्याएको बताइन् । छोरा गोविन्द जागिरमा र बुहारी इन्दिरा घरधन्दामा व्यस्त रहने हुँदा आफ्नै काखमा नातिनीलाई खेलाएर हुर्काएको र साथीको झैँ सम्बन्ध रहेको हजुरआमा सुभद्राले बताइन् । फुपू प्रमीला सुवेदीले गत साउन १७ गते हजुरबुवा वेदनाथ खतिवडाको वार्षिक श्राद्धको सम्पूर्ण काम भदैनी अञ्जुले आफ्नो जिम्मामा लिएर फत्ते गरेको बताइन् ।
काका पुण्यप्रसाद खतिवडाले भतिजी अन्जुमा कहीँ कतै खोट लगाउने ठाउँ नभएको बताए । उनी पनि अञ्जुलाई आगोले कति पोल्यो होला भन्दै भक्काए । मिलनसार स्वभाव र अत्यन्तै बाठी अञ्जुले पहिलो श्रीमान्को विमान दुर्घटनामा नै निधन भएपछि शोकलाई शक्तिमा बदल्दै आफैँ पनि विमान चालक बनेको काका पुण्यप्रसादले बताए । दुर्घटनाको दिन पनि बिहान को–पाइलट अञ्जुले माइतीमा रहेका आफ्ना बाबुआमासँग टेलिफोनमा कुराकानी गरेको काका पुण्यप्रसादले बताए ।