काठमाडौं ।
हङकङले विश्वको ‘सबैभन्दा ठूलो रिसेप्शन’ आयोजना गर्ने तयारी गरेको छ। कोभिड महामारीले हङकङको पर्यटन र अर्थतन्त्रमा ठूलो क्षति पुर्याएको छ । यसको क्षतिपूर्तिको लागि, महानगरले ठूलो घोषणा गरेको छ।
हङकङले बिहीबार विदेशी पर्यटकलाई आकर्षित गर्न प्रचार अभियान सुरु गरेको छ । यो अभियान अन्तर्गत विदेशीले हङकङ आउन उडान भाडा तिर्नुपर्ने छैन । हङकङले पाँच लाख निःशुल्क हवाई टिकट वितरण गर्ने भएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार हङकङका प्रमुख कार्यकारी अधिकृत जोन लीले बिहीबार आफ्नो रिब्रान्डिङ अभियान ‘हेलो हङकङ’को अनावरण गरेका छन्। अभियानले हङकङको विश्वव्यापी छवि सुधार्ने लक्ष्य पनि राखेको छ। यसमार्फत पर्यटक तथा लगानीकर्तालाई हङकङको बारेमा राम्रो जानकारी दिई राम्रो हङकङ देखाइनेछ ।
व्यापार र पर्यटनका दिग्गजहरूलाई सम्बोधन गर्दै लीले अब हङकङ आउने मानिसहरूलाई कुनै पनि क्वारेन्टाइन वा प्रतिबन्धको सामना गर्नु नपर्ने बताए । उनले हङकङले सहरको चहलपहल र व्यापारलाई फर्काउन आधा मिलियन नि:शुल्क हवाई टिकट दिने बताए ।
नि:शुल्क टिकट मार्चबाट सुरु हुनेछ। नगरवासीका लागि पनि सरकारले थप ८० हजार निःशुल्क हवाई टिकट दिने घोषणा गरेको छ । लीले भने, ‘महिला र सज्जनहरू, यो सायद संसारले देखेको सबैभन्दा ठूलो स्वागत हो।’
रिब्रान्डिङ अभियान शहरको मुख्य सम्मेलन केन्द्रमा रूसी र स्पेनिश सहित सबै प्रमुख भाषाहरूमा नाराहरूका साथ सुरु भयो। अनावरणका क्रममा दर्शकलाई मनोरञ्जन दिन नर्तकहरुको पनि उपस्थिति रहेको थियो ।
हङकङका अधिकारीहरूले भनेका छन् कि एयरलाइन्स क्याथे प्यासिफिक, हङकङ एक्सप्रेस र हङकङ एयरलाइन्सले मार्च १ देखि विदेशीलाई ६ महिनाका लागि निःशुल्क हवाई टिकट वितरण गर्नेछन्।
२०२२ मा मात्र ६ लाख विदेशीहरू हङकङ आए, जुन २०१८ को तथ्याङ्कको एक प्रतिशत भन्दा कम हो। विगत तीन वर्षमा १३० भन्दा बढी अन्तर्राष्ट्रिय कम्पनीहरूले हङकङका आफ्ना कार्यालयहरू बन्द गरेका छन्। भर्खरै, २५३ जापानी कम्पनीहरूको सर्वेक्षणले देखाएको छ कि उनीहरूले हङकङमा काम गर्न राम्रो कामदार पाउन असमर्थ छन्।
आधिकारिक तथ्याङ्क अनुसार गत वर्ष हङकङको अर्थतन्त्र ३.५ प्रतिशतले घटेको थियो र सोही अवधिमा १ लाख ४० हजारभन्दा बढी कामदारहरूले सहर छोडेका थिए। यी कारणले हङकङको पर्यटन र लगानीलाई ठूलो धक्का लागेको छ ।
सन् २०१९ मा हङकङका जनता हजारौंको संख्यामा चिनियाँ कब्जाविरुद्ध सडकमा निस्किए । यी प्रदर्शनहरू लामो समयसम्म चल्यो तर प्रहरीले उनीहरूलाई कडाइका साथ दमन गरेको थियो।
सन् २०२० मा राष्ट्रिय सुरक्षा कानून पारित गरेर चीनले प्रजातन्त्र पक्षधर आन्दोलनलाई पूर्ण रूपमा कुचल्यो। जसका कारण विश्वभर हङकङको छवि धमिलो भएको थियो र यो अवधिमा धेरै लगानीकर्ताले देश छाडेका थिए । धेरै व्यवसायीले हङकङमा आफ्नो व्यवसाय मर्ज पनि गरेका छन् । पर्यटनमा पनि असर परेको छ ।
२०१९ को अन्तिम महिनाहरूमा, हङकङले कोभिड महामारीलाई ध्यानमा राख्दै कडा नियमहरू लागू गर्यो, जसका कारण पर्यटकहरू देशमा आउन छाडेका थिए। तीन वर्षभन्दा बढी समयदेखि कोभिडको प्रतिबन्ध जारी रह्यो, जसका कारण देशको पर्यटन ठूलो नोक्सानमा पुगेको छ ।
व्यापारिक सुविधाका लागि विश्वभर चिनिने हङकङले पनि आफ्नो प्रतिष्ठा ध्वस्त पारेको छ । तर अहिले हङकङले यहाँका मानिसहरूलाई आकर्षित गर्न पूर्ण तयारी गरेको छ ।
महेन्द्रनगर (दोधारा चाँदनी) –
कञ्चनपुरको महाकाली नदी बगरमा किसन सोनाहको परिवार वालुवा छान्न र गिट्टी कुट्नमा व्यस्त छ । छेउमा साढे दुई वर्षको नाति रोइरहेको छ तर यो परिवार भने बच्चाको रुवाईलाई खासै वास्ता नगरी काम सकाउन तल्लिन छ ।
भीमदत्त नगरपालिका-१२ ऐरीका ४५ वर्षीय किसन सोनाहको परिवारले प्रत्येक वर्ष नौ महिना यसैगरी बगरमा बिताउँछ । परिवारको खर्च जुटाउनका लागि आफूहरुसँग यसको विकल्प नभएको किसन सोनाहको भनाइ छ । भीमदत्त नगरपालिका वडा नं १२ र १३ मा लामो समयदेखि बसोबास रहेका अल्पसङ्ख्यक सोहान जातिको आयस्रोतको मुख्य आधार नै महाकालीको बगर बनेको छ ।
“बर्दियातिर हाम्रो समूदायका मानिसले सुन छान्ने काम गर्छन्”, उहाँले भन्नुभयो, “तर यहाँ सुन भेटिदैन र बालुवा छान्ने र गिट्टी कुट्नुको विकल्प छैन ।” आफूसहित श्रीमती, छोरा, बुहारी सबैजना गिट्टी कुट्नमा व्यस्त यो परिवारका लागि साढे दुई दशकदेखि महाकालीको बगर आम्दानीको स्रोत बनेको छ । यो परिवारले यसरी हरेक दिन खटिँदा मासिक रु २५ हजारसम्म कमाउने लक्ष्मी सोनाहले बताउनुभयो ।
“चामल किन्नेदेखि बिरामी हुँदा ओखती किन्नका लागि समेत यो परिवारले यही बगरमा दैनिक कडा परिश्रम गर्दै आएको छ”, लक्ष्मी सोनाहले रासससँग भन्नुभयो, “दिनभरको कमाइ नगरे साँझ विहान घरमा चुल्हो बल्दैन ।” चुनावको समयमा भोट माग्न आउने राजनीतिक दलका नेताहरुले समूदायको हितमा काम गर्ने भन्दै कैयन आश्वासन दिए पनि चुनाव जितेपछि भने बिर्सिने गरेको उहाँको गुनासो छ ।
त्यसैगरी पाँच वर्ष भारतको महाराष्ट्र र गुजरातमा मजदुरी गरेर स्वदेश फर्किनुभएका अशोक सोनाह पनि बगरमै मजदुरी गर्न व्यस्त हुनुहुन्छ । प्रत्येक वर्ष असोजदेखि जेठसम्म यो समूदायका अधिकांश सदस्यले बगरमै पसिना बगाउने उहाँको भनाइ छ ।
“हाम्रो तीन पुस्ता अहिले यही बगरमा व्यस्त छ”, उहाँले भन्नुभयो, “सरकारले हाम्रो जस्तो समूदायका व्यक्तिलाई सीप सिकाएर रोजगारी दिएको भए राम्रो हुन्थ्यो ।” अशोकले हजुरबुवादेखि आफूसम्म यही बगरमा काम गरिरहेको बताउनुभयो ।
अहिले महाकालीमा प्रतिट्रली बालुवा रु एक हजार र गिट्टी रु एक हजार आठ सयमा बिक्री हुन्छ । “पूरै परिवारले चार दिनमा एक ट्रली गिट्टी छान्न सक्छौँ”, उहाँले भन्नुभयो, “पहिले भुजेलातिर सङ्कलन गथ्र्यौ अहिले झोलुङ्गे पुल क्षेत्रतर्फ सरेका छौँ ।”
ओदालीका ५५ वर्षे चन्द्रकला सोनाह पनि बुहारी सुनितासँगै बगरमा गिट्टी कुट्न व्यस्त हुनुहुन्छ । “हाम्रो परिवारको दैनिकी त यही बगरका ढुङ्गासँग लड्नु हो”, सुनिताले भन्नुभयो, “बगरमा दिनभर काम गर्न पाइयो भने घरमा चुल्हो बल्छ ।”
दुई नातिलाई स्कूल पठाएर आफूहरु बगरमा आएको चन्द्रकला सोनाहले बताउनुभयो । “छोरो काम गर्न कतार गएको छ”, उहाँले भन्नुभयो, “खेतिपाती गर्न खेत नभएपछि बुहारी र म बगरमै काम गर्न आउँछौँ ।” उहाँले नौ महिना बगरमा पसिना बगाएपछि बाँकी समय गाउँघरमा मजदुरी गर्दै आएको बताउनुभयो ।
“केही वर्ष गाउँघरमा घर बनाउनेदेखि अरु काममा ज्याला मजदुरीसमेत गरेँ”, सुनिताले भन्नुभयो, “गाउँमा काम गरेको पैसासमेत समयमा नपाउने भएपछि फेरि बगरमै आए ।”
उहाँले केही समयअघि बाख्रापालन, कुखुरापालन तालिम सञ्चालनका लागि समूदायले पहल गरे पनि सरोकारवाला निकायबाट कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो । “गाउँमा सिलाइकटाइको सीप सिकेर काम गरौँ भन्दा पनि पाइन, त्यसैले बगरमै काम गर्नु परेको छ”, उहाँले भन्नुभयो ।
बगरमा हाल सोनाह समूदायको करिब ४० परिवार बालुवा छान्ने र गिट्टी कुट्ने काम गरिरहेको छ । महाकाली नदीको भुजेला क्षेत्रदेखि दोधारा चाँदनी झोलुङ्गे पुलसम्म तीन सयभन्दाबढी विपन्न परिवार अहिले बालुवा र गिट्टी छानिरहेको छ ।
यहाँका अधिकांश सोनाह जातिसँग खेतीयोग्य जमिन छैन भने यो समूदायका धेरै परिवार ऐलानी र नदी किनारका खाली जमिनमा टहरा बनाएर बसिरहेका छन् ।
सोनाह जाति पुस्ताँैदेखि यहाँ मजदुरी गरिरहेको भए पनि करिब एक÷डेढ दशकयता दलित, विपन्न र चौधरी समूदाय पनि बगरमै टहरा बनाएर मजदुरीमा गर्छन् । बगरमा आश्रय लिएर बालुवा, गिट्टी छानिरहेका कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ताको जुगमनि चौधरीको दम्पती पनि यहीँ काम गरिरहेको छ ।
“बगरमा सङ्कलन खुलेकाबेला काम गर्न आउन थालेको आठ वर्ष भयो”, चौधरीले भन्नुभयो, “वृद्धावस्था हुँदा भारत गएर काम गर्न सकेनौँ र यही काम गरेर परिवारको खर्च चलाइरहेका छौँ ।”
यहाँको बेलौरी, बेल्डाँडी क्षेत्रका व्यक्तिहरु पनि बगरमै टहरा बनाएर काम गरिरहेका छन् । महाकाली वरपरको तटीय क्षेत्रका दलित एवं विपन्न समूदायका अधिकांश परिवार अहिले बगरमै सङ्घर्ष गरिरहेका छन् ।
यहाँ हरेक वर्ष भीमदत्त नगरपालिकाले नदीजन्य पदार्थ सङ्कलनका लागि ठेक्का दिँदै आएको छ । उक्त रोयल्टीवापतको रकम भीमदत्त र दोधाराचाँदनी नगरपालिकाले बाँडफाँट गर्दै आएका छन् ।
भीमदत्त नगरपालिका वडा नं १३ का अध्यक्ष रामबहादुर बोहराले लामो समयदेखि स्थानीय र जिल्ला बाहिरबाट समेत बगरमा बालुवा, गिट्टी जानेर जीविकोपार्जन गर्ने नागरिक धेरै रहेको बताउनुभयो । “कैलालीको टीकापुरदेखि बेलौरी, बेल्डाँडीबाट गिट्टी छान्न आउनेहरु रातभर बगरमै सुत्छन्”, अध्यक्ष बोहराले भन्नुभयो, “तटीय क्षेत्रका स्थानीय भने दिनभर बगरमा काम गरेर बेलुकी घर फर्कन्छन् ।