पहिलो राष्ट्रपतिमा हाम्रै प्रस्ताव थियो: अध्यक्ष ओली !

रेडियो दर्पण संवाददाता

२७ फागुन, काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो राष्ट्रपति डा रामवरण यादव आफूहरुको समर्थन र प्रस्तावमा निर्वाचित भएको बताएका छन् ।

एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता भएपछि सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले नेपालको पहिलो राष्ट्रपति डा यादवलाई आफूहरुको प्रस्तावमा नै निर्वाचित गराएको बताए। उनले आफ्नो पार्टीले त्यसपछि क्रमशः आफ्नै उम्मेदवार उठाएको बताए ।

यस्तै सङ्घीय संसद्भवन नयाँ वानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै एमालेबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्यले लोकतन्त्रमा विश्वास गर्नेहरुले स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताइन् । उनले भनिन्, “लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले यसबारे सोच्न जरुरी छ ।

एमालेले आज बिहान एमालेले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । शाक्यको प्रस्तावकमा अध्यक्ष ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेताहरु छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ छन् । त्यस्तै, समर्थकममा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिजाल छन् ।

दमौली बजार जोगाउन मादीमा बाँध निर्माण
तनहुँको सदरमुकाम दमौली बजारलाई बाढीबाट जोगाउनका लागि मादी नदी किनारमा बाँध निर्माण थालिएको छ । गत वर्ष मादीमा आएको बाढीले कटान गरेपछि दमौली जोखिमा परेको थियो । अहिले बाँध निर्माणको काम धमाधम भइरहेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–३ मादी किनारमा दुई सय ५२ मिटर ग्याबिन तारसहित बाँध निर्माण गरिएको जिल्ला सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख रमेशराज शर्माले जानकारी दिनुभयो । व्यास–३ तल्लो भतेरीमा बाढी बस्तीमा पसेपछि जोखिम कम गर्ने उद्देश्यले बाँध निर्माण गरिएको हो ।

चालु आर्थिक वर्ष २०७९÷८० को असार मसान्तभित्र बाँध निर्माण सम्पन्न गर्ने गरी एमआर गु्रप चितवनले गत वर्ष निर्माणको ठेक्का लिएको थियो । यसका लागि गण्डकी प्रदेश सरकारले रू दुई करोड ५० लाख विनियोजन गरेपछि निर्माण थालिएको हो । “निर्माण अन्तिम चरणमा पुग्दा बजेट निकासामा ढिलाइ भएको छ”, प्रमुख शर्माले भन्नुभयो । उहाँका अनुसार हालसम्म रू २० लाख मात्रै भुक्तानी भएको छ ।

सोही बजेटमा व्यास–५ पाटनस्थित मादी किनारमा झण्डै एक सय मिटरको बाँध निर्माण भइरहेको छ । व्यास–५ का छ सय ६३ र व्यास–३ का केही परिवार कटानका कारण जोखिममा छन् । टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ गत वर्ष बाढी आएपछि रातभर जाग्राम बस्नु परेको बताउनुहुन्छ ।