उपराष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

रेडियो दर्पण संवाददाता

२८ फागुन, काठमाडौं ।

आगामी चैत ३ मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन हुँदैछ ।

शनिबार भएको उम्मेदवारको मनोनयनपत्र दर्तामा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आज १२ बजे मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, १२ बजेदेखि १ बजेसम्म नामावली प्रकाशन गर्ने जनाएको छ । साथै दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र ४ देखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

उपराष्ट्रपतिमा मनोनयनपत्र दर्ता गर्दा नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले निर्देशन दिएको थियो ।

समूहमार्फत आर्थिक रुपान्तरण गर्दै पूर्वकमलरी
घोराही उपमहानगरपालिका–८ बेलुवाकी तिला चौधरी मुक्त कमलरी विकास मञ्चमा आबद्ध भएर ज्ञान र सीप आर्जन गरिरहनुभएको छ । उहाँ सगरमाथा महिला समूहको अध्यक्ष समेत हुनुहुन्छ । उहाँ भन्नुहुन्छ “घुम्ती कोषमार्फत संस्थाले सहयोग गरेको छ । लगानी गरेर कृषि व्यवसाय गरेका छौँ । समूहमा बसेर ज्ञान, सीपका कुरा सिकेर व्यवहारमा उतारेका छौँ ।” उहाँले थोरै भए पनि बचत गर्नुपर्छ भन्ने कुरालाई व्यवहारमा उतार्दै भविष्यको योजनाका बारेमा छलफल गरेर काम अगाडि बढ्ने गरेको बताउनुभयो । कुखुरापालन, तरकारी खेती, बङ्गुरपालनलगायत पेसामा समूहका सदस्य आवद्ध भएका छन् ।

घोराही–२ का विपती चौधरी पूर्वकमलरी हुनुहुन्छ । कमलरी छँदा सुखको सास फेर्न नपाउनुभएकी उहाँ अहिले किराना पसल खोलेर बस्नुभएको छ । समूहमा आबद्ध भएर ज्ञान आर्जन गर्ने अनि आफूमा लागू गर्दै आउनुभएकी उहाँ कमलरी जीवनबाट मुक्ति पाएपछि जीवन फेरिएको बताउनुहुन्छ । उहाँले किराना पसलका साथै बाख्रापालन पनि गर्नुभएको छ ।

“अहिले मुक्त कमलरी विकास मञ्चले स्थापना गरेको समूहबाट घुम्ती कोषबाट ऋण लिएर बाख्रापालन गरेको छु”, उहाँँले भन्नुभयो, “घरमा सानो पसल पनि सञ्चालन गरेको छु । पहिले केही गर्न सक्दैनथेँ अहिले आत्मर्निभर भएको छु, मसँग आम्दानीको स्रोत भएपछि श्रीमान्सँग पैसा माग्नु पनि परेको छैन । पहिले–पहिले एक–दुई रुपैयाँ पनि कहाँ पाऊ भन्ने हुन्थ्यो, अहिले कमाउन सक्ने भएको छु ।”

घरमा आइपर्ने समस्या समाधान गर्न सजिलो भएको उहाँले बताउनुभयो ।

दाङको घोराही उपमहानगरपालिका–२, ४ र ८ मा आइएम स्वीडिस डेभलपमेन्ट पार्टनरको साझेदारीमा मुक्त कमलरी तथा सामाजिक वहिष्करणमा परेका महिलाको सशक्तीकरणमा परियोजनामार्फत गर्दै आएको कामले मुक्त कमलरी, विपन्न महिलाको जीवनमा परिवर्तन आएको छ । तीन वडामा १३ महिला समूह गठन गरिएको छ । यसमा करिब चार सय बढी महिलाको आबद्धता छ । यतिमात्रै होइन, बालबालिकामा सचेतना बढाउन र भोलिको सुन्दर भविष्य निर्माणका लागि तीनवटै वडामा वडास्तरीय युवा क्लब पनि गठन छ । जसबाट बालविवाह अन्त्य, लैङ्गिक हिंसा निवारणका बारेमा सचेतना फैलाउने काम हुँदै आएको मञ्चका केन्द्रीय अध्यक्ष हिरामोती चौधरी बताउनुहुन्छ ।

संस्थागतरूपमा हेर्ने हो भने विगतमा सरकारसँग भएको १० बुँदे सम्झौता कार्यान्वयन हुन नसक्दा कमलरी मुक्तिपछिको पुनःस्थापनामा समस्या देखिन्छ । सरकार र मुक्त कमलरीबीच विसं २०७० जेठ २४ गते १० बुँदे सहमति भएको थियो । सम्झौता कार्यान्वयनका लागि सरकारसमक्ष निरन्तररूपमा ध्यानाकर्षण गराउने काम गर्दै आएको उहाँ बताउनुहुन्छ ।

मञ्च कमलरी जीवनबाट मुक्ति पाएको, गरिब, निुमखाको उत्थानका लागि पैरवी गर्न स्थापित संस्थाले खेल्दै आएको भूमिकाका कारण आज धेरै दिदीबहिनीले आफूलाई जीवन बदल्न र सफलताको बाटोमा अग्रसर भएको र समुदायस्तरमा गरिएका कार्यक्रमले सार्थकता पाउँदै गएको उहाँको तर्क छ । कमलरीको जीवन बदल्न तथा सामाजिक रुपान्तरणमा मुक्त कमलरी विकास मञ्चले निकै ठूलो भूमिका खेल्ने काम गरेको घोराही–२ का वडाध्यक्ष चित्रबहादुर चौधरी बताउनुहुन्छ ।

मञ्चले थालेका कामले स्थानीय सरकारलाई पनि सहयोग पुगेको घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरी बताउनुहुन्छ । मुक्त गर्ने काम भइसकेपछि अब ती कमलरीको व्यवस्थापनका लागि सरकारले गरिरहेको पहलमा स्थानीय सरकारले विशेष भूमिका निर्वाह गरिराखेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “स्थानीय सरकारले मुक्त कमलरीका बारेमा तालिम नियमितरूपमा गर्दै आएका छौँ । पढिरहेका मुक्त कमलरीको छात्राबासमा बस्न खानको समस्यालाई ध्यानमा राखेर पालिकाभरका त्यस्ता छात्राको व्यवस्थापन गर्ने काम गरेका छौँ ।”

मञ्चले संस्थागत विकासलाई पनि अघि बढाएको छ । मुक्त कमलरीलाई तालिम दिने, उनीहरूलाई सीप प्रदान गर्दै सक्षम बनाउने, पेसा रोजगारमा लगाउने काममा लागिरहँदा घोराही उपमहानगरपालिकाको तर्फबाट पनि नियमित सहयोग र सहकार्य हुँदै आएको छ । आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै अझ प्रभावकारी बनाउने उपमहानगरपालिकाले जनाएको छ ।

समूह र युवा क्लबबाट सरोकार निकायबाट पाउनुपर्ने सेवा सुविधाका बारेमा समन्वय हुने गरेको छ । जस्तो वडा कार्यालय, कृषि कार्यालय, स्थानीय तहहरूबाट पाउनुपर्ने सेवा सुविधका बारेमा पहुँच बढाउने काम हुने गरेको छ । युवाको पनि उनीहरुको सहभागिता बढाउनेदेखि सचेतनामूलक कार्यक्रम सञ्चालन हुने गरेको छ ।

पूर्वमुक्त कमलरीको अगुवाइमा विसं २०६७ मा सामाजिक संस्थाका रूपमा स्थापित मञ्च एक दशकयता सङ्गठितरूपमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जिल्लामा लक्षित वर्गको शिक्षा, सशक्तीकरण, जीविकोपार्जन तथा पुनःस्थापनालगायत हक अधिकारको सवालमा पैरवी गर्दै आएको छ ।