२ चैत, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो पासपोर्टमाथिको अनुसन्धान सकिएको छ। जिल्ला प्रहरी परिसर काठामाडौंले अनुसन्धान सकेर फाइल जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको हो।
जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता अच्युतमणि नेउपानले प्रहरीले अनुसन्धान सकेर फाइल पठाएको पुष्टि गरे।
‘प्रहरीले फाइल पठाएको छ। अहिले हामी अध्ययनकै क्रममा छौं। अध्ययन गरिसकेपछि के हुने भन्ने टुंगा लाग्छ’, प्रवक्ता नेउपानेले नेपाल लाइभसँग भने।
लामिछानेले नागरिकता २०५० साल फागुन १० गते काठमाडौंबाट लिएका थिए। २०७० फागुन ११ गते उनले अमेरिकी नागरिकता लिएका थिए। २०७१ जेठ २१ मा उनी नेपाल आए।
अमेरिकी नागरिकता लिइसकेपछि पुरानो नागरिकताकै आधारमा २०७३ जेठ १३ गते नेपाली राहदानी लिएको बताइएको छ भने अर्कोतर्फ उनले अमेरिकी पासपोर्ट र नेपाली पासपोर्ट एकसाथ प्रयोगमा ल्याएको दाबी गरिएको छ। करिब ३ वर्षसम्म रविले अमेरिका र नेपालको दोहोरो पासपोर्ट प्रयोगमा ल्याएको बताइएको छ। सोहीबारे प्रहरीले अनुसन्धान सकेर फाइल बुझाएको हो।
यसअघि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले पुनः नागरिकता लिनुपर्नेदेखि मन्त्री र सांसद पद नै खारेज हुने फैसला सुनाएको थियो।
दुई करोडमा तनहुँमा ‘औद्योगिक ग्राम’ बनाउन सुरु
गण्डकी प्रदेश र आँबुखैरेनी गाउँपालिकाको लगानीमा वडा नं २ मार्कीचोकमा ‘औद्योगिक ग्राम’ निर्माण गर्न लागिएको छ । प्रदेशको रु एक करोड ४० लाख र गाउँपालिकाको रु ६० लाख बजेट विनियोजन गरी औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो ।
घरेलु उद्योगलाई आधुनिक प्रविधिमैत्री बनाउने उद्देश्यले औद्योगिक ग्राम सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । स्थानीयवासी चेपाङ र भुजेलले उत्पादन गर्ने परम्परागत बाँसजन्य सामग्री निर्माण तथा आरन पेसालाई आधुनिकीकरण गर्न तालिम प्रदान गरी तालिमपश्चात् व्यावसायिक बनाउने लक्ष्य रहेको बताइएको छ ।
गाउँपालिका मातहत रहेका छवटै वडाका गरी करिब ६० जनालाई समेटेर सुरुमा तालिम प्रदान गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । स्थानीयस्तरमा रहेका स्रोत र साधन परिचालन गरी रोजगार सिर्जना गरी आर्थिक क्षेत्रमा सबल बनाउने गाउँपालिकाले लक्ष्य लिएको छ ।
आँखा उपचार सेवा
गाउँपालिका कार्यालयले भरतपुर आँखा अस्पतालसँग सम्झौता गरी आँखा उपचार सेवा प्रदान गर्न लागेको छ । अस्पतालले दुई र गाउँपालिका कार्यालयले एक गरी तीन जना जनशक्ति राखेर सेवा प्रवाह गर्न लागिएको हो ।
औषधि तथा उपकरण अस्पतालले नै सहयोग गर्ने र गाउँपालिकाले बार्षिकरूपमा रु छ लाख दिने सहमति भएको छ । गाउँपालिका कार्यालयले दुई कोठा उपलब्ध गराउने र बिरामी जाँच गर्दा लिइने टिकट शुल्कबाट उठेको रकममध्ये केही प्रतिशत गाउँपालिकालाई प्रदान गरिने भएको छ ।
गाउँपालिकाले १५ शय्या क्षमताको आँबुखैरेनी अस्पताल सञ्चालनमा ल्याएको छ । एक एमडिजिपी, तीन चिकित्सकसहितका स्वास्थ्यकर्मीले सेवा प्रवाह गर्दै आएका छन् । उक्त अस्पतालले गोरखा, लमजुङ, चितवनलगायतका नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्दै आएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । अहिले दैनिक एक सय बढी नागरिकले स्वास्थ्योपचार लिँदै आइरहेको गाउँपालिकाले जनाएको छ ।